काठमाडौँ, ६ पौष । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् ।
रैथाने एग्री प्रोडक्स नेपालद्वारा आज दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि उनले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए ।
उनले भने, “मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो । यसमा सोच्नुपर्छ ।”
ठूलो सङ्ख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै उहाँले प्राङ्गारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्