अर्थ

१३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात



काठमाडौँ, ६ पौष । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गएको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।