समाचार

पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा फेला



काठमाडौँ, ६ पौष । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो ।

मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन सकेको छैन । यस्तै एउटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको थियो ।

यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको छ । निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जनाएको छ ।