काठमाडौँ, ८ पौष । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् । सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो ।
प्राध्यापक केसी र थपलिया एमाले तथा नेपाल कांग्रेसनिकट प्राध्यापक हुन् । नवनियुक्त उपकुलपति केसी एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठन अध्यक्षसमेत हुन् । नेपाल भने प्रजातान्त्रिक प्रध्यापक संघ उपत्यका र संस्कृत विश्वविद्यालयका इकाईका पूर्वपदाधिकारी हुन् । थपलिया प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रकी प्राध्यापक हुन् । उनी कृषि विश्वविद्यालयको रजिस्ट्रार थिइन् ।
कांग्रेस र एमालेबाट चार विश्वविद्यालयमा दुई–दुई उपकुलपति नियुक्त गर्ने सहमतिअनुसार उनीहरूले नियुक्ति पाएको प्रजातान्त्रिक प्राध्यापक संघका एक प्राध्यापकले बताए । उनका अनुसार माघदेखि उपकुलपति रिक्त हुने काठमाडौं विश्वविद्यालय पनि कांग्रेसको भागमा परेको छ । ‘चार विश्वविद्यालयमा उपकुलपति कांग्रेस कोटाबाट भए रजिस्ट्रार एमाले र उपकुलपति एमालेबाट भए रजिस्ट्रार कांग्रेस कोटाबाट नियुक्त गर्ने सहमति भएको छ,’ उनले भने ।
छनोट तथा सिफारिस समितिले सिफारिस गरेको सूचीबाट प्रधानमन्त्री एवं कुलपति ओलीले उपकुलपति नियुक्ति गरेका हुन् । पोखरा विश्वविद्यालयमा शिक्षामन्त्री तथा सहकुलपति विद्या भट्टराई, कृषि र संस्कृत विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीताकुमारी पौडेलको संयोजकत्वमा ३/३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ ।
प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने भन्दै कार्यविधि ल्याइए पनि सिफारिस समितिले तजबिजमा दिने अंक बढी राखिएको भन्दै आलोचना हुँदै आएको थियो । कृषि विश्वविद्यालयमा थपलियालाई उपकुलपति बनाउन अनुकूल हुने गरी समिति गठन गरिएको भन्दै विरोध भएको थियो । विश्वविद्यालय सभाका सदस्य नै रहेका प्राध्यापकलाई समितिमा राखेको पाइएपछि शिक्षा मन्त्रालयमा उजुरी परेको थियो । उजुरीपछि समिति पुनर्गठन गरिएको थियो ।
उपकुलपति छनोटसम्बन्धी कार्यविधिको मापदण्ड विश्वविद्यालयपिच्छे फरक–फरक बनाउने गरिएको छ । उपकुलपति नियुक्तिका लागि बनाइएको कार्यविधिमा मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको तुलनामा त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयमा सिफारिस समितिले तजबिजका आधारमा दिने अंक बढी थियो । संस्कृत, कृषि र पोखरा विश्वविद्यालयमा तजबिजका आधारमा दिने अंक त्रिवि र पूर्वाञ्चलको भन्दा पनि झनै बढी छ । कृषि विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक सूर्यकान्त घिमिरेले निश्चित व्यक्तिलाई नियुक्ति दिने गरी कार्यविधि बनाइएको भन्दै दरखास्त आह्वानकै बेला असहमति राखेका थिए ।
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धानलाई सबैभन्दा बढी २५ अंक दिने प्रावधान थियो । कृषि र संस्कृत विश्वविद्यालयमा अनुसन्धानलाई जम्मा ६ अंक मात्र छुट्याइएको छ । पोखरा विश्वविद्यालयमा पनि अनुसन्धानमा ११ अंक मात्र छुट्याइएको छ । गत फागुनमा त्रिविको उपकुलपति नियुक्ति गर्दा अनुसन्धानमा थोरै अंक दिएको भन्दै आलोचना भएपछि त्यसपछिका नियुक्तिमा अनुसन्धानमा सक्रिय प्राध्यापकलाई अंक बढाएर प्राथमिकता दिइएको थियो । संस्कृत, कृषि र पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न एक सय पूर्णाङ्क तोकिएको छ । अंक विभाजनमा ६५ अंक तजबिजका आधारमा दिन सकिने व्यवस्था कार्यविधिमा छ । सबैभन्दा बढी २० अंक अन्तर्वार्ताका लागि छुट्याइएको छ ।
कृषि, पोखरा र संस्कृत विश्वविद्यालयमा अन्तर्वार्ताका लागि २०–२० अंक छुट्याइएको छ । यसअघि उपकुलपति नियुक्त त्रिविमा १५, पूर्वाञ्चलमा १५, मध्यपश्चिम र सुदूरपश्चिममा १६/१६ अंक छुट्याइएको थियो । प्रस्तुतीकरणमा मध्यपश्चिम र सुदूरपश्चिममा १० अंक छुट्याइएको थियो भने अहिले उपकुलपति नियुक्ति प्रक्रियामा रहेका विश्वविद्यालयमा २०–२० अंक छुट्याइएको छ । प्रतिस्पर्धा भन्दै भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गरिएको कृषि विश्वविद्यालयका एक प्राध्यापकले बताए । ‘आफ्ना मान्छेलाई मनोमानी अंक दिएर नियुक्ति गर्न सक्ने गरी कार्यविधि बनाइएको थियो,’ उनले भने, ‘नियुक्ति पनि दल र नेताले सिफारिस गरेअनुसार भयो । पढ्ने, पढाउने, अनुसन्धान गर्नेभन्दा पनि दल र नेताका निकट भएकालाई रोजियो ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्