अर्थ

नेपालको १४८ देशसँग व्यापार



काठमाडौँ, ८ पौष । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ ।

यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । व्यापारमा सबैभन्दा ठुलो हिस्सा भारत र चीनको रहेको छ भने केही देशसँग नेपालले केही हजारको मात्रै व्यापार गरेको छ । 

पाँच महिनाको अवधिमा नेपाललाई भारतसँगको व्यापारमा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ घाटा भएको छ । तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको छ । 

त्यसैगरी चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्यात भएको छ ।