काठमाडौँ, ११ पौष । कांग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान संशोधन र कानुन निर्माणमा गृहकार्य गर्न तीन वटा कार्यदल बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयन्त्रको बैठकले दुई वटा कार्यदलमा रहने सदस्य तोकिसकेको छ भने संविधान संशोधनको गृहकार्य गर्ने अर्को कार्यदलमा सदस्य छनोट गर्न बाँकी छ ।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकका अनुसार औद्योगिक र व्यापारिक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा बाधक रहेका कानुनको खारेजी र संशोधन गर्ने विषय पहिचान गर्न कानुनी पृष्ठभूमि रहेका विज्ञ समूहको कार्यदल बनेको छ । कार्यदलमा अधिवक्ता सेमन्त दाहाल, योजनाविद् प्रताप पौडेल, वरिष्ठ अधिवक्ता अरुण पौडेल, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, गण्डकीका पूर्वमुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइराला सदस्य छन् । यो कार्यदलले संघीयता कार्यान्वयन र सेवा प्रवाह छिटोछरितो बनाउन आवश्यक कानुन निर्माणमा पनि सहजीकरण गर्ने गृहमन्त्री लेखकले बताए ।
संसद्मा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउन कांग्रेस र एमालेका प्रमुख सचेतकसहित पार्टीका एक/एक सदस्य रहेको अर्को समिति गठन गरिएको छ । समितिमा प्रमुख सचेतकसँगै एमालेबाट योगेश भट्टराई र कांग्रेसबाट जीवन परियार छन् । विधेयकमा देखिएका विवाद र फरक मतमा समाधान खोज्न पार्टी प्रतिनिधिले सहजीकरण गर्ने भनिएको छ । संविधान संशोधनका लागि आवश्यक समीक्षासहित विषयवस्तु पहिचान गर्न गठन गरिने कार्यदलका लागि भने सत्तारूढ दुवै दलले नाम दिन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्