राजनीति

नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक



काठमाडौँ, १२ पौष । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै उनले नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताए । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए । 

‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले  नागरिकता पाउनै पर्छ  । तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुई वटा कुरामा स्पष्ट छौँ,’ उनले भने ।

समितिले झण्डै ३ महिनामा सबै कुराको अध्ययन गरेर अहिलेसम्मका कार्यदलका प्रतिवेदन, अदालतका फैसला, हाम्रो मौजुदा कानुनी व्यवस्थाहरू, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ ।