काठमाडौँ, १३ पौष । माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रिय भएको छ । माओवादी र एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि मोर्चामार्फत कुनै पनि गतिविधि गरिएको छैन ।
तत्कालीन सत्तारूढ माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र संसद् बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी रहेको समाजवादी मोर्चा २०८० असारमा घोषणा गरिएको थियो । मोर्चामा पछि महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी जोडिएको थियो ।
गत वैशाखमा पार्टी विभाजन भएपछि जसपा नेपाल मोर्चाबाट बाहिरिइसकेको छ । ‘सरकारमा रहँदा प्रचण्डजीले समाजवादी मोर्चालाई सत्ताको हतियारका रूपमा अघि बढाउनुभयो । अहिले मोर्चा भए पनि भविष्यमा पार्टी नै बनाउने भन्नुहुन्थ्यो । अहिले मोर्चाको नाम नै लिन चाहनुभएको छैन,’ मोर्चामा रहेको दलका एक नेताले भने ।
जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाज निर्माणका लागि मोर्चा बनाइएको उद्घोष गरिएको भए पनि मोर्चामार्फत तत्कालीन सत्तासहयात्री कांग्रेसलाई दबाब दिने माओवादी अध्यक्ष दाहालको रणनीति थियो ।
नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने मुख्य उद्देश्यसहित मोर्चालाई केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठन गर्ने गरी कार्यविधिसहितको प्रतिवेदन बनाइएको थियो । चार दलका नेताहरूको कार्यदलले बनाएको मस्यौदा अलपत्र छ । यस बीचमा मोर्चाका संयोजक रहेका नेकपा महासचिव नेत्रविक्रम चन्दले मोर्चालाई सक्रिय बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । तर उनीहरूले यसमा चासो देखाएका छैनन् । चन्द नेतृत्वको नेकपाको गत साता भएको केन्द्रीय समिति बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ ।
मोर्चाको राजनीतिक प्रतिवेदन तयार गर्न बनेको कार्यदलमा सदस्य रहेका नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले नेताहरूमा मोर्चाप्रति उदासिनता देखिएको बताए । ‘मोर्चामा पार्टी एकता गर्ने हदसम्म छलफल चलेको थियो । समाजवादी ध्रुव निर्माण गर्ने र विचार मिल्नेसँग एकताको आधार बनाउने भनिएको थियो । राजनीतिक दस्ताबेजको मस्यौदा पनि तयार गरेका थियौं,’ उनले भने, ‘सम्बद्ध दलका नेताहरूको उदासिनताका कारण मोर्चा अहिले पूरै सेलाएको छ ।’
प्रतिक्रिया दिनुहोस्