समाचार

आजको मौसम



काठमाडौँ, १४ पौष । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा हिमपात र वर्षा तथा तरार्इका केही स्थानमा वर्षा हुनेछ ।

त्यस्तै आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।