राजनीति

माओवादी पहिलो भए सुशासनको युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड



कञ्चनपुर, १४ पौष । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका हुन् । आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ ।

दाहालले भने, ‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौं तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन् । अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ । गिरीबन्धुको फाइल खोलिनेछ, त्यसलाई लुकाउन दिइने छैन । ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार पनि त्यतिकै छाडिने छैन, यो सबैका निम्ति माओवादी बलियो हुनुपर्छ ।’