राजनीति

नेपाल अहिले निर्माणको चरणमा रहेको छ : मन्त्री दाहाल



काठमाडौँ, १५ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको बताएका छन् ।

आज सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो कुरा बताएका हुन् । 

‘अन्य मुलुकको तुलनामा अहिले हामी निर्माणको चरणमा छौँ । नेपालमा २०१३ सालमा कान्ति राजमार्गले काठमाडौँ र बाहिरका जिल्लालाई जोडेको थियो । त्यसअघि गाडी बोकेर ल्याइन्थ्यो । अहिले देशभरमा ६० लाख सवारी र एक लाख किलोमिटर सडक पुगेको छ,’ उनले भने, ‘तर विकास भन्ने बित्तिकै सडक आउँदो रहेछ । सडकलाई नै विकास देख्ने  गरिन्छ ।’

सडकले सुविधा त पुगेको तर मर्मतका लागि उत्तिकै चुनौती थपिएको समेत उनले बताए । मन्त्रालयको कुल विनियोजित बजेटको ८० प्रतिशत सडक मर्मतका लागि छुट्याउने गरेको तर त्यसले पर्याप्त नभएको बताए ।