राजनीति

थप ३५० मेगावाट बिजुली आयात गर्न भारतको अनुमति



काठमाडौँ, १६ पौष । नेपालले हिउँदयामका लागि भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । 

बर्खायाममा भारत र बंगलादेशलाई बिजुली बेच्ने नेपालले हिउँदमा भने भारतकै भर पर्नुपर्ने अवस्था छ । जलाशययुक्त आयोजना नभएकाले हिउँदमा अझै केही वर्ष भारतकै भर पर्नुपर्ने प्राधिकरणको भनाइ छ । हरेक वर्ष हिउँदमा अपुग बिजुली भारतबाट आयात गर्न भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।

गत मंसिरमा ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय र टनकपुर प्रसारणलाइनबाट ५४ गरी ६५४ मेगावाट बिजुली ल्याउन भारतले अनुमति दिइसकेको छ । सोहीबेला प्राधिकरणले १३२ केभी प्रसारणलाइनबाट समेत ६ सय मेगावाट बिजुली ल्याउन अनुमति मागेको थियो । १३२ केभीको चार वटा प्रसारणलाइनबाट ६ सय मेगावाट बिजुली आयातका आग्रह गरे पनि भारतले ३५० मेगावाट बिजुली आयात गर्न अनुमति दिएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए ।

कटैया (भारत)–कुसवा (नेपाल), रक्सौल–परवानीपुर र गण्डक (नेपाल)–रामनगर (भारत) प्रसारण लाइनबाट ४५० मेगावाट बिजुली आयातका लागि अनुमति मागेको थियो । तर भारतले ३ सय मेगावाट मात्रै आयात गर्न अनुमति दिएको छ । यस्तै १३२ केभी मैनहिया (नेपाल)–सम्पतिया (न्यु नौतनवा, भारत) प्रसारणलाइनबाट १५० मेगावाट बिजुली आयातका लागि आग्रह गरे पनि भारतले ५० मेगावाटको मात्र अनुमति दिएका ढकालले जनाए ।

भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको ढकालको भनाइ छ । साँझको समयमा भने भारतले बिजुली निर्यात नगर्ने उनले बताए । ‘भारतले साँझ ५ देखि राति ९ बजेसम्म बिजुली आयात गर्न दिँदैन,’ उनले भने, ‘आगामी मार्च १५ पछि सोलार आवर अर्थात् बिहान ६ देखि बेलुका ६ बजेसम्म आयात गर्न पाइन्छ ।’

प्राधिकरणले हिउँदमा भारतको प्रतिस्पर्धी बजारबाट मात्रै एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाउने भएको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुसवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया–सम्पतियाबाट ५० मेगावाट गरी एक हजार ४ मेगावाट आयात गर्न पाइनेछ । कान्तिपुर