समाचार

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै



काठमाडौँ, १७ पौष । आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागेका हुन् ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।