काठमाडौँ, १७ पौष । ऊर्जा मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
सञ्चालक समितिका सदस्य सचिवसमेत रहेका घिसिङले यही पुस ४ को बैठकमा छलफल भएको उक्त प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । मिश्र संयोजकत्वको समिति डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न गठन गरिएको हो । तर, प्राधिकरणले अदालत वा विद्युत् नियमन आयोगमार्फत यस्तो समिति गठन हुनुपर्ने अडान लिँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भने समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले बेहोर्नुपर्ने जनाउँदै आएका छन् ।
त्यसका लागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । तर प्राधिकरणले समितिलाई अवैध बताउँदै तलबभत्तादेखि तथ्यांक उपलब्ध नगराउने जानकारी गराएको थियो । यसबीच, पुस ३ मा नियुक्त भएका बोर्डका नयाँ सदस्यद्वय बलबहादुर पराजुली र लक्ष्मण केसीको स्वागतका लागि ४ गते बैठक राखिएको थियो । तर, मन्त्री खड्काले समितिका सदस्यलाई सेवासुविधादेखि तथ्यांक उपलब्ध गराउनुपर्ने भन्दै प्रस्ताव राखेका थिए । प्रस्तावमाथि छलफल भए पनि पारित हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्