राजनीति

गृहमन्त्रीद्वारा प्रमुख जिल्ला अधिकारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन



काठमाडौँ, १९ पौष । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । 

गृह मन्त्रालयले आज गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको भन्दै सीमित स्रोत साधनकाबिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्’, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’

मन्त्री लेखकले सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रह समेत गरे ।