राजनीति

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : मन्त्री भट्टराई



काठमाडौँ, १९ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।

आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या गर्‍यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा गर्‍यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्‍यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ ।’