काठमाडौँ, २० पौष । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबर रुपैयाँको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’ को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ ।’
एमसीसी परियोजनाअन्तर्गत ४ सय केभीको डबल सर्किट ३ सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ ।
प्रतिक्रिया दिनुहोस्