राजनीति

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : गगन थापा



काठमाडौँ, २० पौष । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

आज गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन,’ ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं ?’ पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’

अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठिक नभएको उनले बताए । । ‘जर्मनीमा १५ वर्ष २० वर्ष लगातार गठबन्धनको सरकार चल्यो । नचल्ने होइन । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ उनले भने, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’