काठमाडौँ, २१ पौष । सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत प्रदेशस्थित सबै सरकारी अस्पतालहरूमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
आज एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भने, ‘आफू पदभार ग्रहण गर्दै गर्दा प्रदेशमा निःशुल्क रकमको व्यवस्था गर्ने प्रतिवद्धता अनुसार आज कार्यान्वयन गर्न गइरहेका छौँ ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्यमा ९ वटै जिल्लाका अस्पतालमा सेवा उपलब्ध गराइने भएको छ ।
प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका ९ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ । सम्झौता अनुसार रगत परीक्षणमा लाग्ने प्रति पिन्ट ११५० रुपैयाँ प्रदेश सरकार व्यहोर्ने भएको हो । प्रदेश सरकारले निःशुल्क रगत सेवा उपलब्ध गराउन एक करोड बजेट विनियोजन गरेको छ । प्रदेशमा प्रति महिना एक हजार पिन्ट रगतको माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्