भक्तपुर, २२ पौष । भ्रस्टाचार विरोधी अभियन्ता हेम पाठकले सहकारी क्षेत्रमा देखा परेको विकराल समस्याको मुख्य कारण सरकारी निकायको लापरबाही रहेको बताएका छन् ।
नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाठकले सहकारीको रकम कहाँ लगानी भएको छ र त्यो रकम अपचलन त् भएको छैन भन्ने विषयमा सरकारले समयमै अनुगमन नगरेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्याले मुलुकको आर्थिक प्रणालीमा गम्भीर असर परेको र तत्काल समाधान खोजिनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “सहकारी क्षेत्रमा देखिएको आर्थिक संकट दुई प्रमुख कारणले आएको हो । पहिलो, सरकारको सहकारी नीति र दोस्रो, सरकारी निकायको अनुगमनको अभाव । नेपाली जनताले विभिन्न माध्यमबाट जम्मा गरेको पैसा – चाहे त्यो मकै पोलेर, टमाटर बेचेर, दुध बेचेर वा अन्य व्यापार व्यवसायबाट आएको होस्, सबै सहकारीमा जम्मा गरियो । सरकारले सहकारी खोल्ने व्यक्तिको पृष्ठभूमि, क्रेडिट हिस्ट्रीजस्ता महत्त्वपूर्ण पक्षहरू नहेरी जसलाई पनि सहकारी खोल्ने अनुमति दियो। सहकारीले बैंकभन्दा अलि धेरै ब्याज दिने आश्वासन दिएपछि जनताले आफ्नो सबै पैसा त्यहीँ लगानी गरे ।”
प्रतिक्रिया दिनुहोस्