राजनीति

शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : गगन थापा



काठमाडौँ, २३ पौष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

आज ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् । 

संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाई थियो । उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुचि छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन । संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन ।’