काठमाडौँ, २५ पौष । बागलुङको काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।
यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।
उनका अनुसार किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेको छ । ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ । उनले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्