राजनीति

एमालेको शालिनता र शिष्टतालाई कमजोरी नठान्न महासचिव पोखरेलको चेतावनी



नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले देखाइरहेको शालिनता र शिष्टतालाई कमजोरी नठान्न पार्टी र पार्टीनेतृत्वका विरोधीहरूलाई चेतावनी दिनुभएको छ । 

नेकपा (एमाले) दाङले सोमबार विजौरीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अहिले पार्टीमाथि साइबर हमला भइरहेको र भ्रमपूर्ण सूचनाबाट नेकपा (एमाले) र त्यसको नेतृत्वको तेजोवध गर्ने प्रयत्न भइरहेको बताउनुभयो । सामाजिक सञ्जालमार्फत् एमाले र एमाले नेतृत्वविरूद्ध नियोजित आक्रमण गरेर जनतामा भ्रम सिर्जना गरिएको भन्दै उहाँले पार्टीपङ्क्तिले त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । विरोधीहरूको प्रतिवाद अराजक हिसाबले होइन, सैद्धान्तिक र शालीन रूपमा गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । सामाजिक सञ्जाललाई प्रचारको सशक्त माध्यम बनाउनुपर्ने र त्यहाँ जनतालाई काम लाग्ने विषय लिएर उपस्थित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘अहिले पार्टी नेतृत्वमाथि गरिएको घेराबन्दी हाम्रो लागि सामना गर्न नसकिने विषय होइन, हाम्रो आन्दोलनको शालीनता र शिष्टतालाई हाम्रा विरोधीहरूले कमजोरीका रूपमा देखेका छन्’, उहाँले भन्नुभयो, ‘अब प्रचारको सशक्त माध्यमा सामाजिक सञ्जालको प्रयोग र परिचालन हुनुपर्दछ ।’

नेकपा (एमाले) कमजोर हुनुको परिणाम के हुने रहेछ भन्ने कुरा देशले पलपल अनुभव गरेको उल्लेख गर्दै एमाले कमजोर हुँदा देशको विकास निर्माणको काम ठप्प हुने महासचिव पोखरेलको धारणा छ । एमाले नेता कार्यकर्ता पनि जनताको बीचमा कम जान लागेका भन्दै महासचिव पोखरेलले यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । चुनावका बेलामा मात्र जनताको बीचमा गएर जनताको विश्वास जित्न नसकिने उहाँको धारणा छ । पार्टीले काम गर्छ भन्ने धारण विकास गर्न सक्दा मात्र पार्टीले चुनाव जित्ने उहाँको धारणा छ । अब वडालाई नै पार्टी कामको केन्द्रबिन्दु बनाउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।