राजनीति

सार्वजनिक सेवा प्रसारण संस्थाहरूले सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले : मन्त्री गुरुङ



काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाहरूलाई नियम र कानुनअनुसार संचालन गर्न नसक्दा सत्ता र व्यक्ति विशेषको चाकडी गर्दै विकास हुन लागेको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण (पीएसबी)को मंगलबार पूर्वारम्भ कार्यक्रममा मन्त्री गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू संस्थागत रूपमा भन्दा पनि व्यक्ति र सत्ताको इसारामा चल्न लागेको बताएका हुन् । कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकास भएको बताएका थिए । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको उनको भनाइ थियो ।

मन्त्री गुरुङले भने, ‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरूले गरेको हो तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्था यसको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकसित भए । राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरूको चाकडी गर्ने संस्थाका रूपमा विकास भयो । जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन । मिथ्या र झूट समाचार प्रसारण गर्‍यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो ।’