राजनीति

सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी



काठमाडौँ, ३ माघ । सरकारबाहिर रहेका राजनीतिक दलहरूले संसद्को हिउँदे अधिवेशन सरकारले तत्काल नबोलाए सडक संघर्ष गर्ने उद्घोष गरेका छन् ।

संसद्मा भएका ६ विपक्षी दल र समाजवादी मोर्चाको बुधबार सिहंदबारमा छुट्टाछुट्टै बैठक भएको थियो । माओवादीको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले सरकार अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ । दुई दलीय शासन ल्याउन सरकारले कानुन नै संशोधन गर्न खोजेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् । उनीहरूले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध पनि गरेका छन् । 

प्रमुख प्रतिपक्ष माओवादीको संयोजनमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संसद्लाई कमजोर बनाउन अध्यादेशको बाटोमा अघि बढेको टिप्पणी गरेका थिए । सरकार आफ्नै कारणले संकटमा पर्दै आएको उनीहरूको दाबी थियो । विपक्षी दलको बैठकमा माओवादी, एकीकृत समाजवादीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका नेता सहभागी थिए ।

समाजवादी मोर्चाको बुधबार अपराह्न बसेको बैठकले सरकारको कदमविरुद्ध माघ १६ मा राजधानीमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संसद्मा नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको अध्यक्षतामा मोर्चाका बैठक बसेको हो । सहिद दिवसका अवसरमा काठमाडौंमा हुने विरोध प्रदर्शनमा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।