राजनीति

अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन



काठमाडौँ, ३ माघ । सरकारले अध्यादेशमार्फत् आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेको छ ।

यो ऐन संशोधनसँगै बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने भएको छ । गत आर्थिक वर्षमा पनि सरकारले अध्यादेशबाटै बजेट क्यालेन्डर संशोधन गरेको थियो ।

सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसदबाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ ।

बजेट क्यालेन्डर संशोधन गर्न सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको थियो । अध्यादेश जारीसँगै संसदमा विचाराधीन उक्त विधेयक स्वतः निष्क्रिय भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा विचाराधीन रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माण प्रक्रिया अलमलमा परेको थियो । अध्यादेश आएसँगै करिब दुई हप्ता धकेलिएको बजेट निर्माण प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको अर्थ मन्त्रालयले जनाएको छ ।