राजनीति

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउन सक्रियता



काठमाडौँ, ५ माघ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिनुभयो । निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने, स्वदेशमै रोजगारी सिर्जना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । 

पर्याप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक अवस्था मजबुत बन्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो कार्यक्रम उद्योग मन्त्रालयको मात्रै भनेर निर्देशिका कार्यान्वयनमा आनाकानी गर्ने छुट कसैलाई छैन, निर्देशिका राजपत्रमा प्रकाशन हुनेबित्तिकै सबैले अनिवार्य कार्यान्वयन गर्नु पर्छ, यसका लागि सरकारले राष्ट्रिय रूपमै अभियान चलाउने तयारी गरेको छ ।”