एजेन्सी, ५ माघ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ ।
युद्धविराम प्रस्ताव अनुमोदन गर्ने/नगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको थियो । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गएको बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरेसँगै १५ महिनादेखिको युद्ध रोकिने छ ।
सम्झौताअनुसार हमासले विभिन्न चरणमा ३३ जना बन्धक रिहाइ गर्नेछ भने इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई मुक्त गर्नेछ । इजरायली सेना पनि गाजाको घना बस्ती भएको क्षेत्रबाट फिर्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्