राजनीति

थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली  : अध्यक्ष दाहाल



काठमाडौँ, १६ माघ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदहरूले देखेको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे ।

राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा शहीदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरुप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ । अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न शहीद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।