समाचार

झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने



रौतहट, १६ माघ । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने भएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेकाे १० हजार बढि कुल ४९ हजार २६९ जना बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिएका छन् ।

पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि  फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।