Banner News

निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : गगन थापा



काठमाडौँ, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत, अन्तरतहबाट २० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरे ।

उनले भने, ‘निजामती सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरू पनि आओस् जसले गर्दा निजामती सेवामा तल भर्‍याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिस्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि गर्छौँ । खुला प्रतियोगिताका लागि १०, अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रस्ताव गरेको छु । खुला प्रतियोगितामा सेवा भित्रबाट प्रतिस्पर्धा गर्न नपाउने । त्यसमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत निजामतीभन्दा बाहिरको गैरनिजामती सेवा, निजी क्षेत्र, गैरसरकारी सेवा रहेका मान्छेहरू चाहिँ आउन पाउने छन् ।’