राजनीति

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: सभापति देउवा



काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् ।

आइतबार आफ्नै निवास बुढानीलकण्ठमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का पदाधिकारीहरूसँग भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरूका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराए ।

विशेषगरी कार्कीले कार्यपालिकाले अध्यादेश ल्याएर संसदबाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गरिदिंदा यसले ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्कासन रोकिएको र विद्युत् ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत् विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले ६५ लाख सर्वसाधारण र प्रवर्द्धकका साथै बैंक तथा वित्तीय संस्थाबाट समेत गरी १५ खर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको क्षेत्रलाई चलाउँदा यसले अर्थतन्त्रमै समस्या ल्याउन सक्ने बताए । उनले ४२ वटा कम्पनीको आइपीओ र ४१ वटा कम्पनीको एफपीओ गरी ५६ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन रोकिएकोले यो विषय फुकाउनको लागि पनि निर्देशन गरिदिन देउवासँग आग्रह गरे ।