Banner News

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्नु हो : गृहमन्त्री लेखक



काठमाडौँ, १० फागुन । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए ।

उनले भने, ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’ ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए ।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए ।