Banner News

अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौँलाई व्यवस्थित रूपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँ उपत्यका भौतिक विकास समितिको सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौँलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए ।

उनले भने, ‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौँ अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब बिस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ ।

उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरूलाई व्यवस्थित गर्नका लागि सहरी नीति मन्त्रिपरिषदबाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाई थियो ।