काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणानुसार, प्राधिकरणले उक्त अवधिमा विद्युत् बिक्री, ब्याज तथा अरू गरीबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनामा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आवको साउनदेखि पुस मसान्तसम्म अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछि निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्