Banner News

बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्छ : सभामुख घिमिरे



काठमाडौँ, २ चैत । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । 

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिवद्धता बलियो रही आएको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको उनले बताए ।

बीआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्ने बताए । सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रुपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, उर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

सभामुख घिमिरेले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुमपा रही आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको छ । यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्छ ।’