काठमाडौँ, २ चैत । कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् ।
पाँचथर जिल्लामा शनिबार आयोजित कार्यक्रममा उनले राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने भनाइ छ । पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने सम्बन्धमा सरकारले कानुन तर्जुमा गर्न लागेको सन्दर्भमा उनले कानुन बिना नै राज्यका पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिइँदै आएकोमा त्यसलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् । पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्ने थापाको भनाइ छ । राज्यकोषको दुरुपयोग भइरहेको कुरालाई रोक्न कानुन बनाउन लागेको कुरा सरकारले भन्नुपर्ने उनले बताए ।
महामन्त्री थापाले भने, ‘अहिले सरकारले के भन्नुपर्यो भने म यस्तो कानुन बनाउँछु, मैले बनाएको कानुनबाट नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु । त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्