राजनीति

राष्ट्रिय युवा संघद्वारा खुल्ला रक्तदान आयोजना




भक्तपुर, २ चैत । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपाल भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नंं ६ कमिटीको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान जीवनदान हो भन्ने मान्यतालाई आत्मसात् गर्दै रक्तदान आयोजना गरिएको संघका जिल्ला अध्यक्ष रविन थापाले बताउनुभयो ।

कार्यक्रममा पुरुष ३२ र महिला १९ जनाले गरी ५१ जनाले रक्तदान गरेका छन् । रगतको अभावले भक्तपुरमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भनि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संक्षिप्त धारणा राख्दै नेता बस्नेतले सामाजिक क्षेत्रमा विशेष भूमिका निर्वाह गरी जनताको पक्षमा रहेर काम गर्नु आम युवाहरुको जिम्मेवारी रहेको भन्दै सामाजिक क्षेत्रमा काम गर्दा राजनीतिभन्दा माथि उठेर गर्नुपर्ने धारणा राख्नुभयो । मुलुक परिवर्तनको मेरुदण्ड युवा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा जहाँ समस्या, त्यहाँ युवा संघ हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले युवाहरुले अबका दिनमा समाजको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेता बस्नेतको साथमा अध्यक्ष देउजा तथा मन्त्री थापाले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । आगामी दिनमा जिल्लाभर यस्ता सामाजिक कार्यहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न युवा संघलाई आग्रह गर्दै उहाँहरुले समाज रुपान्तरणको आधार तयार गर्न युवाको भूमिका मूख्य हुने बताउनुभयो ।