समाचार

भैरहवामा धम्म यात्रा सम्पन्न



भैरहवा, ३ फागुन । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ सम्पन्न भएको छ ।

भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । 

लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरे । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।

थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताए ।