Banner News

पूरा भइसकेका मागलाई लिएर नागढुंगा सुरुङमार्गको काममा अवरोध



काठमाडौँ, ४ चैत । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । 

स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध गरेका हुन् ।

अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प छ । निर्माणस्थलमा ४ सय कामदार परिचालित रहेको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । बलम्बुको किसिपिडी क्षेत्रमा फ्लाईओभर र सुरुङभित्रको निर्माण अन्तिम चरणमा पुगेको छ । यही बेला स्थानीयले काम गर्न नदिएपछि निर्माण व्यवसायीले ठूलो रकम क्षतिपूर्तिका रूपमा दाबी गर्ने जोखिम बढेको छ ।

एक दिन काम बन्द हुँदा ५० लाखभन्दा बढी घाटा हुने गरेको निर्माण कम्पनीले जनाएको छ । यस क्षेत्रका स्थानीयले एकपछि अर्को माग अघि सार्दै काममा अवरोध गर्दै आएका छन् । आयोजनाले प्रभावित क्षेत्रका स्थानीयको धेरै माग सम्बोधनसमेत गरिसकेको बताएको छ । केही माग सम्बोधन हुने क्रममा छन् । आयोजनासँग गरिएका सहमति कार्यान्वयन नहुने देखेर संघर्षका कार्यक्रम सुरु गरिएको चन्द्रागिरि नगरपालिका–२ का स्थानीय गोपी सुर्खेतीको दाबी छ ।

‘खानेपानी पर्याप्त भयो, तर यो आयोजना चन्द्रागिरि नगरपालिकालाई हस्तान्तरण गरेपछि उसैले स्थानीयलाई पानीको व्यवस्थापन गर्छ,’ सुर्खेतीले भने, ‘अहिलेसम्म खानेपानी, त्यसमा प्रयोग हुने विद्युत्, कर्मचारी र मर्मतसम्भारको व्यवस्थापन आयोजना आफैंले गर्दै आएको छ, नगरपालिकाले जिम्मा लिएपछि स्थानीयले पानीको शुल्क तिर्नुपर्छ । तर हामीलाई निःशुल्क खानेपानीको व्यवस्था गरिनुपर्छ ।’ सुरुङका कारण खानेपानीका मुहान सुकेपछि आयोजनालाई पानीको व्यवस्था गर्न भनिएको उनले जनाए ।

सुर्खेती यसअघि यहाँका वडाध्यक्ष थिए । उनी वडाध्यक्ष हुँदा आयोजनाले माग पूरा नगरेको भन्दै काम बन्द गर्ने चेतावनी दिएका थिए । स्थानीयका माग पूरा नगरे २०७७ पुस १९ बाट निर्माण ठप्प पार्ने चेतावनी वडाध्यक्ष स्वयंबाटै आएपछि यसको सर्वत्र विरोध भएको थियो । अहिले फेरि उनकै अगुवाइमा पूरा भइसकेका र पूरा हुने चरणमा रहेका माग अघि सार्दै काम ठप्प पारिएको हो । चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग अघि सार्दै काममा अवरोध गरिएको छ ।

रफ्तारमा काम भइरहेकै बेला अचानक काम रोक्नुपर्दा समस्या भएको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘जति माग उठाइएको छ, प्रायः सबै सम्बोधन भइसकेका छन्,’ उनले भने । पटक–पटक काममा अवरोध गरिँदा निर्माण व्यवसायीबाट ठूलो रकम क्षतिपूर्तिका रूपमा माग्ने जोखिम रहेको उनले जनाए । यसरी निर्माणमा अवरोध भइरहे सुरुङको काम सक्न कठिन हुने आयोजनाको भनाइ छ ।

खानेपानी आयोजनामा ६ जनालाई रोजगारी दिइएको र दुई वटा बोरिङमार्फत प्रभावितलाई पानी उपलब्ध गराइरहेको पन्थीले जनाए । आउँदो २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । यसरी काम रोकिँदा तोकिएको समयमा सक्न कठिन हुने पन्थीको भनाइ छ । २०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८७ प्रतिशत काम सकिएको छ । अहिले सुरुङभित्र क्रंकिट ढलान (सडक) को काम भइरहेको छ ।

अहिले सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ । आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्ने खोलामा पर्ने मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर छ ।

बलम्बुस्थित किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । अहिले दुई लेनमा तेस्रो तहमा सडक कालोपत्रको काम भइरहेको छ । सुरुङ सञ्चालनमा आएपछि दूरी, समय मात्र घट्ने छैन, सवारीसाधनमा लाग्ने इन्धन खर्च पनि कम हुनेछ । अहिले सुरुङभित्र फायर फाइटिङ र लाइटिङ जडानको काम भइरहेको छ । भेन्टिलेसन जडानको काम पनि जारी छ । रेलिङ लगाउने, भित्तोमा रङरोगन गर्ने काम सकिने चरणमा छ ।

यति ठूलो आयोजनामा यसरी पटक–पटक काम रोकिनु राम्रो नभएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । ‘यसमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले काम गरिरहेको छ, यसरी साना–साना कुरामा काम रोकिँदा अन्तर्राष्ट्रिय तहमा नराम्रो सन्देश जान्छ,’ उनले भने, ‘जति छिटो यसको काम सक्न पाइयो, त्यति नागढुंगा–नौबिसे सडक खण्डमा यात्रा सहज र छिटो हुनेछ ।’

वार्ताबाट समस्या समाधान गर्न बोलाउँदा पनि स्थानीयले बेवास्ता गरेको उनले जनाए । अहिले नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । कान्तिपुर