विश्व

गाजा पट्टीमा इजरायलको आक्रमणमा ३४ जनाको मृत्यु 



एजेन्सी, ५ चैत । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ ।

सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । समाचार संस्था रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै मध्य गाजाको देर अल–बलाहमा तीनवटा घरलाई निशाना बनाइएको बताएको छ । यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो ।

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु र ७० जना घाइते भएको जनाएको छ ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।

“हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,” विज्ञप्तिमा भनिएको छ । बीबीसी