काठमाडौँ, ६ चैत । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्ने भएको छ ।
यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका शहरहरूमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबिच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।
चैत ७ गतेदेखि सुरु हुने यस महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा १०० भिक्षु र ४०० साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
यसबिचमा लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायतका विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्