राजनीति

ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध भताभुङ्ग भयो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ७ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका छन् ।

आज बाराको रानीवास बजारमा आयोजित सर्वपक्षीय अन्तरक्रियामा उनले ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध बिग्रिएको आरोप लगाएका हुन् ।

वर्तमान गठबन्धन सरकारका कारण जनतामा निराशा देखिएको भन्दै प्रचण्डले यसैलाई देखाएर प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू सबै दल र पार्टी उस्तैउस्तै हुन् भन्ने भाष्य बनाएकोमा असन्तुष्टी पोखे । 

उनले भने, ‘म प्रधानमन्त्री हुँदा भारतसँग कति राम्रो सहमति भएका थिए । भारतसँग कतिवटा सहमति भएका थिए ? चीन, राष्ट्रसंघदेखि अन्य देशसँग यति राम्रो सम्बन्ध भएकोमा अहिले ओली आउँदा लथालिंग भताभुङ्ग भएको छ’, के अब सबै सरकार उस्तै हो ? तपाईँहरू जस्ता जनप्रतिनिधिहरूले उस्तैउस्तै हो भनिदिनुभयो भने जनता भ्रमित हुन्छन् । यी सबै उस्तै हो भन्ने भाष्य ठिक छैन भन्ने मेरो तपाईँसँग अनुरोध छ ।’