अर्थ

न्यूनतम पारिश्रमिक बढाउने गृहकार्य



काठमाडौँ, ९ चैत । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरु भएको जानकारी दिएको छ ।

विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी २०८२ साउन १ गतेदेखि लागु गर्ने श्रमिकको पारिश्रमिक वृद्धिको काम सुरु गरेको जानकारी गराएको हो । 

हाल श्रमिकको मासिक पारिश्रमिक १७ हजार तीन सय रुपियाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपियाँ तोकिएको छ भने महँगी भत्ता छ हजार ४८० रुपियाँ छ । २०८० साउन १ गतेदेखि लागु भएको श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ कार्यान्वयन गरेको हो ।

दर्ता भएर सञ्चालन भएका रोजगारदाता प्रतिष्ठानलाई अब ऐनविपरीत सञ्चालन गर्न छुट नहुने र ती व्यवसायी प्रतिष्ठानलाई कानुन अनुसार कारबाही हुने छ ।

आन्तरिक रोजगारी प्रवर्धन एवं श्रम प्रशासनको सुदृढीकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने विषयमा विभागले काम अगाडि बढाएको पनि सोही पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा विभागले न्यूनतम पारिश्रमिकको कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा सूचीकरण, बालश्रम एवं बाध्यकारी श्रमको निवारण, श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सुनिश्चितताका विषयमा पनि काम गरिरहेको जानकारी दिइयो ।