मनोरञ्जन

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना



काठमाडौँ, ११ चैत । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन् । 

चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले त्यसपछि ‘धर्मा’मा अभिनय गरिन् । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको  ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताइन् । 

उनले भनिन्, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ ।” 

पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई आफूले नियालिरहेको उनले बताइन् । 

उनले ‘करिअर’को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ ।