राजनीति

ज्ञानेन्द्र शाहलाई म्युजियममा राख्नुपर्छ: पूर्वमन्त्री बस्नेत



भक्तपुर, ११ चैत । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबार संग्रहालयको म्युजियममा लगेर राख्नुपर्ने धारणा राख्नुभएको छ ।

एमालेले सवै वडाहरुमा एकै पटक आज आयोजना गरेको जागरण सभाको क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ वडा कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता बस्नेतले ज्ञानेन्द्र शाहलाई राजा बन्ने रहर जागेको भए दरबार संग्रहालयको म्युजियमको बनाउने उद्घोष गर्नुभयो । इतिहास कहिले पनि गलत बाटोमा नफर्कने उद्घोष गर्दै नेता बस्नेतले राजाको इतिहास कोट्याएर वर्तमानलाई दुर्गन्धित बनाउनु नहुने बताउनुभयो । राजतन्त्रले देशलाई प्रतिगमन तर्फ लैजाने उल्लेख गर्दै उहाँले लोकतान्त्रीक गणतन्त्रले देशलाई अग्रगमनको बाटोमा तिव्र गतिले अगाडी बढाइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आइफोन, एन्ड्राइड फोन अब १० वर्ष अघिको नोकियाको ढ्याब्रे फोनमा जाँदैन । अहिले फो के टेलिभिजन आइसक्यो । अब उ बेलाको ब्ल्याकेन्वाइट टेलिभिजनमा पुनः फर्कदैन । त्यो टिभी हेर्नलाई म्युजियममा जाने हो । वाई फाई फो जि आयो । अब फाईभ जी आउने चरणमा छ, टुजी तर्फ जाँदैन । तसर्थः अराजक ज्ञानेन्द्र साही तथा ठगेर खाने एउटा दुर्गा प्रसाई भन्ने व्यक्तिको अभिव्यक्ति सुनिन्छ, ‘ज्ञानेन्द्र शाहलाई समाएर नारायणहिटी लान्छौं ।’ उनीहरुले ठिक भनेका हुन । अहिले नारायणहिटीमा अहिले म्युजियम छ, ज्ञानेन्द्रलाई रहर लागेको भए त्यो म्युजियमा गएर बसुन् । चिडियाखानामा चराचुरङ्गी, जनवार तथा लोपन्मुख जिवजन्तुलाई लगेर राखिन्छ । त्यस्तै ज्ञानेन्द्रलाई पनि म अन्तिम राजा हुँ भनेर संग्राहलयमा गए हुन्छ ।’

संविधानभन्दा माथि राजा भएकाले राजाको सवारीमा असंख्य ठूला ठूला चोरी तथा अपराधिक घटनाहरु हुने गरेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वमा अर्थतन्त्रका सुधारहरुको विगत, वर्तमान र भविष्यको बारेमा स्पष्ट पार्नुभयो । पुर्वाधारको क्षेत्रमा पञ्चालयतकाल र अहिलेलाई तुलना गर्ने हो भने राजतन्त्रमा कुखुराको खोर जस्तो रहेको जानकारी गराउँदै उहाँले गणतन्त्रमा आउँदा जनताले देख्ने र भोग्ने गरी ऐतिहासिक रुपमा परिवर्तन भएको दावी गर्नुभयो । विकास र समृद्धिको अभियानलाई आम जनसमुदायले साथ र समर्थन गरी अगाडी बढ्न आह्वान समेत गर्नुभयो ।