काठमाडौँ, १२ चैत । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ ।
प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।
यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए ।
मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाइन् । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाइन् ।
स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लागिन् र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाले ।
ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ । अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्