समाचार

क्षयरोगका सङ्क्रमित बढ्दै



काठमाडौँ, १२ चैत । हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । 

दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । 

घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उनले बताए । 

सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यो वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको जानकारी दिए ।