अर्थ

हिमाल आरोहणका लागि आरोहण अनुमति दिन शुरु



काठमाडौँ, १३ चैत । हिमाल आरोहणका लागि आरोहण अनुमति दिन शुरु भएको छ ।

पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । 

हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरिएको बताए । सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।

सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।