काठमाडौँ, १५ चैत । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको जानकारी दिए । ‘पहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ल्याउन पाइन्थ्यो, अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली ल्याउन पाइने भएको हो,’ उनले भने, ‘समयसँगै आयात गर्न पाइने बिजुलीको परिमाण पनि बढेको छ ।’
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।
इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । राति पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएसँगै शुक्रबारदेखि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने दाबी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्